काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रनिधिसिभामा विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् । प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्दैछ ।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । २९ गते राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ लिएका देउवाले आज संसदमा विश्वासको मत लिने नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए ।
संसद बैठकको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । देउवा संविधानको धारा ७६ को (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको छ ।
देउवालाई सरकार सुरक्षित गर्नका लागि १३६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।




प्रतिक्रिया