काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
सोमबार भर्चुअल प्रेसमिटमार्फत मन्त्री तामाङले कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन सबै दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘मान्छे बाँच्ने कुरा सबैभन्दा ठूलो कुरा हो । नागरिकलाई बचाउन सबै भूमिका र दायित्व हामी पूरा गर्ने छौं’, उनले भने ।
मन्त्री तामाङले स्वास्थ्य मन्त्रालयबाट गर्ने सबै कामहरु पारदर्शी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नियम कानूनअनुसार गर्ने काममा प्रश्न उठेको खण्डमा आफुहरुले गरेका काममा त्रुटि भए खबरदारी गर्न आग्रह गरेका छन् ।
‘यो मन्त्रालयसँग सम्बन्धित भएर विगतमा जति पनि कुराहरु उठेका थिए यो मन्त्रालयबाट गरिने काम पारदर्शी ढंगले गर्नेछौं । यहाँबाट गरिने कामहरु पारदर्शिता कसीमा जाकिने छ’, उनले भने, ‘नियम र होसियारी पूर्वक काम गर्दा पनि त्रुटी भए खबरदारी गर्नुहोला । तपाईहरुको हरेक खबरदारी ग्रहण गर्नेछौं ।’
मन्त्री तामाङले आफूले सम्पति विवरण सार्वजनिक गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले आफूले आज नै अन्तिम दिन भन्ने सम्झेर काम गर्ने बताए ।
‘म आज नै अन्तिम दिने हो भन्ने भावना राखेर काम गर्नेछु । मैले निष्ठा पूर्वक काम गर्छु । म आजको दिन नै अन्तिम दिन हो भनेर काम गर्छु’, मन्त्री तामाङले भने ।
उनले सम्पत्ति विवरणसमेत सार्वजनिक गरेका छन् । उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताएका छन् ।
‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।
उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया