काठमाण्डु – नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन् । तामाङले भने, ‘पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबी रहन्छ ।’ सिन्धुपाल्चोकका तामाङ पूर्वमन्त्रीसमेत हुन् । तामाङ गत चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।
यस्तै प्रदेश १ की प्रदेशसभा सदस्य उषाकला राई पनि तामाङसँगै ओली समूहमा आउने जनाएकी छिन् । यसअघि उनीहरू नेकपाका प्रचण्ड–माधव नेपाल समूहमा थिए । राई नेता तामाङकी श्रीमति हुन् ।
विराटनगरमा हुने सभामार्फत प्रचण्ड–माधव समूहलाई छाड्दै ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा हुने बताइएको छ । प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै आफूहरू एमालेको संस्थापन पक्षमै रहेको बताएका छन् । साथै प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएको उनीहरूले बताएका छन् ।
पार्टी विभाजनपछि एकदिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएका तामाङ प्रचण्ड–माधव समूहमा लागेका थिए ।
तामाङले कुनै समूहतर्फ खुल्नु अपराध नभएको भन्दै विचार जता मिल्छ उतै जाने छुट सबैलाई भएको बताए । ‘कुनै पनि समूहमा खुल्न पाउनु सबैलाई छुट छ, विचार जता मिल्छ उतै जाने न हो’, उनले भने ।




प्रतिक्रिया