कांग्रेस संस्थापन पक्षको पुरानै अडान : विशेष महाधिवेशनको औचित्व छैन

कांग्रेस संस्थापन पक्षको पुरानै अडान : विशेष महाधिवेशनको औचित्व छैन


काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नभएको पुरानै अडान दोहोर्‍याएको छ ।

भृकुटीमण्डपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा भेला भएका संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनको औचित्य नभएको निष्कर्ष निकालेका छन् ।

संस्थापन पक्षका नेताहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री महेन्द्र यादवले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएको निर्णय गरिसकेकाले त्यसलाई सबैले मान्नुपर्ने उनले बताए ।

‘केन्द्रीय समिति एक ढिक्का भएर पार्टीलाई जोगाउने हो । सबैलाई एक ढिक्का रहन आह्वान गरिसकेका छौं । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य छैन भनिसकेको छ, त्यो निर्णयमा अडिग छ । त्यो बैठकबाट जे निर्णय भएको छ, त्यही निर्णयअनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।

कांग्रेसको संस्थापन पक्षले आसन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्ने अडान लिएको छ ।