सभापति देउवालाई विशेष महाधिवेशनको मनोनयन प्रक्रियामा आउन प्रतिनिधिहरूको आह्वान

सभापति देउवालाई विशेष महाधिवेशनको मनोनयन प्रक्रियामा आउन प्रतिनिधिहरूको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूले नयाँ नीति र नेतृत्व चयन गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।

उनीहरूले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आह्वान समेत गरे । मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरू नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए ।

नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू हलबाट निस्किने निष्कर्षमा पुगिएको प्रचार समिति संयोजक सुवास पोखरेलले बताए । उनले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरू गरिएको पनि स्पष्ट पारे । संयोजक पोखरेलले निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे ।

उनले संस्थापन पक्षसँग संवाद जारी रहे पनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अब नरोकिने बताए । प्रतिनिधिहरू देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पनि पारे । देउवा पक्षका नेताहरूले अफवाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, ‘यो विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशतका लागि हैन ।’

उनले अगाडि भने, ‘हामीले भागबण्डा गर्न पठाएका होइनौं । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’ कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए ।