काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले संसदले एमसीसीका बारेमा गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन् ।
उनले भने, ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ।’ त्यसैगरी प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रको हितमा भएको दावी गरे । एमसीसीको पक्षमा डराउनुपर्ने अवस्था पनि नभएको उनको भनाइ छ ।
‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो राष्ट्रको हितमा छ ।’ यता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफू सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताइसकेको छ । हाल पाँच दलीय गठबन्धनमा एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र उभिएको छ ।




प्रतिक्रिया