देउवा भन्छन् : कर्मचारीमा हस्तक्षेप गरेर अधिनायकवाद ल्याउँदै ओली


चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ)को सातौँ महाधिवेशनको रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले सेना, प्रहरी, निजामती कर्मचारी र न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताए ।

अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो । ’कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसलाई स्वीकार्य छैन,’ उनले भने । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले थपे, ’तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँ ।’

कांग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको देउवाले जिकिर गरे । ’कांग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन’, उनले भने । स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा कांग्रेस सधैँ रहने उनले बताए । नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उनले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिएकाे  खबर अाजकाे अन्नपूर्णपाेस्ट्मा छ ।

मुलुकमा महत्वपूर्ण परिवर्तन कांग्रेसले नै गरेको भन्दै उनले संविधानको कार्यान्वयनमा सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताए । संविधान कार्यान्वयन भएमा मात्रै मुलुकले निकास पाउने भन्दै उनले यसका लागि दत्तचित्त भएर लाग्न कर्मचारीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement