काठमाण्डु – नेकपा ओली समूहका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले संसद पुनर्स्थापनाले पार्टी अझ बलियो बनाउन अबसर मिलेको बताएका छन् ।
ओली समूहको युवा संघको बैठकलाई बुधवार काठमाण्डुमा सम्बोधन गर्दै नेता तामाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले दुई वर्ष अझ पार्टी बलियो बनाउन अबसर मिलेको बताएका हुन् ।
‘यसको ठीक उल्टो फैसला आएको भए शायद आज उहाँहरूले आगो बालिरहनुभएको हुन्थ्यो,’ उनले भने, ‘तर, हामी संयमित छौं र दुई वर्ष संगठन गर्ने अवसर पाएका छौं ।’
तामाङले अदालत र संवैधानिक निकायका निर्णयले राजनीतिक पार्टी नबन्ने भन्दै विचारका आधारमा अघि बढ्ने बताए ।
उनले अझै पनि केपी ओली प्रथम अध्यक्ष भएकाले ओलीले बोलाएको बैठकमा प्रचण्ड–माधव समूह सहभागी भएमा पार्टी एकता हुनसक्ने दाबी गरे ।
उनले आफू अवसर र पदका लागि ओली पक्षमा नलागेको र अदालतको फैसलाबाट निराश हुनुपर्ने अवस्था नभएको समेत बताए । केही दिनअघि प्रचण्ड–नेपाल समूहलाई त्यागेर नेता तामाङ ओली समूहमा लागेका थिए ।




प्रतिक्रिया