चार वर्षमा पनि प्रदेशको नाम जुराउन नसकेका मुख्यमन्त्री !

चार वर्षमा पनि प्रदेशको नाम जुराउन नसकेका मुख्यमन्त्री !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई आज (बिहीबार)देखि विदा भएका छन् । झण्डै चारवर्ष मुख्यमन्त्रीको कुर्सीमा रहेका उनले प्रदेश १ को नाम भने टुंगो लगाउन सकेनन् ।

भोजपुरबाट निर्वाचित राई २०७४ फागुन २ मा संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले झण्डै चार वर्षको अवधिमा प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए ।

राजधानीको विषय २३ वैशाख २०७६ मा टुंगो लगाएका राईले नामको विषयमा भने सहमति जुटाउन सकेनन् । राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि उनले सर्वत्र आलोचना समेत खेपेका थिए ।

मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा उनले आफ्नै प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्यलाई चयन गराउन सफल भए । आचार्यले आज नै प्रदेश १ सरकारको धारा १६८(१) बमोजिम मुख्यमन्त्रीका रुपमा सपथ लिइसकेका छन् । र, आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश १ को नाम जुराउने जिम्मा पनि अब उनकै काँधमा आएको छ ।

राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ पुगेर पदबाट राजीनामा बुझाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी या सगरमाथा राख्नुपर्ने मत राखेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किरात या अन्य कुनै नाम राख्न सुझाएका थिए ।

तर राई आफैं भने प्रदेशको नाम कोशी–किरात या सगरमाथा–किरात राख्ने पक्षमा थिए । नामका विषयमा पटक–पटक छलफल भएपनि हालसम्म प्रदेश १ सरकारले नाम जुराउन नसकेको हो ।

एमाले नेतृत्वकै सरकार रहेको चार प्रदेशमध्ये राई मात्रै प्रदेशको नामाकरण गर्न चुके । बागमतीमा डोरमणि पौडेलले, गण्डकीमा पृथ्वी सुब्बा गुरुङले र लुम्बिनीमा शंकर पोखरेलले यसअघि नै प्रदेशको नाम राख्न सफल भइसकेका छन् । प्रदेश १ र २ ले भने आफ्नो प्रदेशको नाम नै जुराउन सकेका छैनन् ।

प्रदेश १ को नाम सगरमाथा, कोसी, किरात, लिम्बुवानमध्ये एक राख्ने विषयमा अझै पनि मत मिलिसकेको छैन ।