विश्वको ध्यान नेपालमा केन्द्रित : मुख्यमन्त्री राई

विश्वको ध्यान नेपालमा केन्द्रित : मुख्यमन्त्री राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उनले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गरे ।

‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढंगले विकास हुन्छ’, उनले भने । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश संघीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताए ।

मुख्यमन्त्री राईले भने, ‘देशमा संघीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो संघीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’ उनले स्थानीय तहमा आएको बजेटको सही ढंगले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताए । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उनको भनाइ छ । रासस