काठमाण्डु – नेकपा एमालेका नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
पूर्व मुख्यमन्त्री समेत रहेका नेता राईले सामाजिक सञ्जालमार्फत जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए ।
उनले कटाक्ष गर्दै भनेका छन्, ‘प्रदेश १ सरकारले तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ्ग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ !!! ती किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशवासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनुसम्म निहुराएको छ !!!! खै के भन्ने ?।’
यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ ।
उनले लेखेका छन् :
मुख खोल्न र खवरदारी गर्न ढिला भइसक्यो कि ?
–––––––––––––––––––––––––––––––––––––
अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरुको तीन महिना अत्तो न पत्तो, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको हुनुपर्छ ! प्रदेश नं १ मा चाही ठ्याक्कै यही भएको छ !! अरु प्रदेशमा के के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिंग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ !!! ति किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशबासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनु सम्म निहुराएको छ !!!! खै के भन्ने ?
ति किर्तिमानी कार्यहरुः–
१.प्रदेशमा पालिकाहरु कतिवटा छन भन्ने कुराको ज्ञान नभएको जानकारी टेलिभजनबाट सार्बजानिक
२.रात्रीकालिन मस्ती कन्सर्ट कार्यक्रमको प्रत्यक्ष प्रसारण सहित सार्बजानिक
३.मन्त्री नियुक्ति नभएको मन्त्रालयमा २/२ जना स्वकीय सचिवको नियुक्ति सहितको सार्बजानिक
४.पुँजीगत खर्च र महत्वपुर्ण बिकास आयोजनाहरुको बजेट कटौंटी गर्दै काले काले मिलेर खाउँ भाले भन्दै मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय
बनाएको घोषणासहित सार्बजानिक
यसरी जनताले चुनेको सरकार ढालेर गठबन्धनको नाममा संघीयताको धज्जी उडाउदै संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई खोक्रो बनाउदै, जनताको बिकास र समृद्विको आम चाहना माथी खेलवाड गर्दै मिलिजुली भागबण्डा गरेर खाने, आफ्ना पार्टी कार्यकर्ता पोस्ने कार्य नांगो रुपमा भइरहेको छ अब मुख खोल्न ढिला भइसक्यो कि ? धन्यबाद !!!!




प्रतिक्रिया