ओली र प्रचण्डलाई तुम्बाहाङ्फेको जवाफः उपसभामुखबाट राजीनामा दिन्न !

ओली र प्रचण्डलाई तुम्बाहाङ्फेको जवाफः उपसभामुखबाट राजीनामा दिन्न !


काठमाडौं – सभामुखको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेका बेला उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि बालुवाटार पुगेकी छन् ।

उपसभामुखबाट राजीनामा नदिने बताइरहेका बेला तुम्बाहाङ्फे छलफलमा सहभागी हुन बालुवाटार पुगेकी हुन् ।

सभामुखको उम्मेदवारमा अड्किएको गाँठो फुकाउन प्रधानमन्त्री ओली र दाहाल करिब एक घण्टाअघिबाट छलफलमा जुटेका छन् । उनले पार्टीको निर्देशनलाई बेवास्था गर्दै राजीनामा नदिने अडान लिएकी छन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले राजीनाम दिएर बोटो खोलिदिन आग्रह गरेपछि उनले अस्वीकार गरेकी हुन् । उनले आफू सभामुखका लागि योग्य भएको भन्दै सभामुख आफैं हुनुपर्ने अडान लिएकी छन् ।

शनिबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो । तर, उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णयबारे थाहा नभएको बताउँदै आजबाट प्रतिनिधि सभाको बैठकले निरन्तरता पाउने बताएकी थिइन् ।

सभामुखमा दौडमा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र अग्‍नि सापकोटा छन् । संसदीय दलका उपनेता नेम्वाङको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन् ।

अध्यक्ष प्रचण्डले उनी निकटका सापकोटालाई साथ दिएका छन् । पार्टीको निर्णयपछि पनि राजीनामा नदिने अडानमा रहेकी उपसभामुखको पक्षमा राष्ट्रिपति विद्यादेवी भण्डारीको साथ रहेको बताइएको छ ।

नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुखको टुंगो आजै लगाउने तयारीमा दुवै अध्यक्ष जुटेका छन् ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ ।