काठमाडौं – सभामुख चयनका लागि उपसभामुखको राजीनामाको विषय पेचिलो बन्दै गइरहेको छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिन आनाकानी गरिरहेका बेला उनको पक्षमा सात प्रदेशका उपसभामुखहरु पनि एक जुट भएका छन् ।
अधिकांश महिला नेतृहरुले शिवमायालाई राजीनामा नदिन सुझाव दिइरहेका बेला प्रदेश सभामुख पनि एककजुट बनेको हुन् । उनीहरुले शिवमायाले महिला भएकै कारण राजीनामा दिन नहुने तर्क अगाडि सारेका छन् । नेकपाले भने सभामुख आफैं राख्न शिवमायालाई राजीनामा दिन लगाउने बताउँदै आएको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख पद रिक्त छ ।
शिवमायाको राजीनामाबारे के भन्छन् त प्रदेशका उपसभामुख ?
उपसभामुख शिवमाया सभामुखका लागि योग्य भएको भन्दै सात प्रदेशका उपसभामुखले राजीनामा नदिन सुझाव दिएका छन् । यो भन्दा अगाडि पनि महिलाले सभामुख भएर संसद चलाएको भन्दै उनीहरुले यो पटक पनि महिला नै सभामुख हुनुपर्ने अडान लिएका छन् ।
अधिकांश प्रदेशका उपसभामुखहरुले शिवमायालाई उपसभामुखबाट राजीनामा गराएर सभामुख बनाए मात्र आफूहरुलाई मान्य हुने प्रतिक्रिया दिएका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजायमा उपसभामुमाथि पोख्न नमिल्ने तर्क उनीहरुको छ । उनीहरुले समयमा सही निर्णय लिन नेकपा नेतृत्वलाई सुझाव दिएका छन् ।
उनीहरुले महिला भएकै कारण शिवमायालाई नहेप्न चेतावनी दिएका छन् । महिलाहरु पनि पुरुष भन्दा कम नभएको उदाहरण दिँदै उनीहरुले क्षमतामा सुवास नेम्वाङ भन्दा शिवमाया पनि कमको नभएको बताएका छन्
प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले महिला भएकै कारण शिवमायालाई राजीनामा गराउन नमिल्ने बताइन् । उनले उपसभामुखले पनि सभामुख चलाउन सक्ने भन्दै नेतृत्वले पुर्नविचार गर्न आवश्यक रहेको बताइन् ।
‘उहाँले पहिलेबाट धेरै अनुभव बटुलिसक्नु भएको छ । उपसभामुखले पनि सभामुख भएर चलाउन सक्ने उहाँको खुबी र क्षमता छ’, प्रदेश नम्बर ५ की उपसभामुख कृष्णी थारुले भनिन्, ‘उहाँलाई सभामुख बनाउँदा केही फरक पर्दैन । सभामुख बन्नका लागि उहाँलाई राजीनामा गराउनै पर्छ ।’
उनले शिवमायालाई राजीनामा गराएर अरुलाई सभामुख बनाए धोका हुने बताइन् । उनले भनिन्, ‘त्यो हामीलाई पनि मान्य हुँदैन । सभामुखको विषयमा शीर्ष नेताहरुले उचित निर्णय लिएर अगाडि बढ्दा राम्रो हुन्छ । उपसभामुखज्यूमाथि अन्याय नहोस् ! कृष्णबहादुर महराले गरेको गल्तीको सजाय उहाँले भोग्नुपर्छ भन्ने छैन् ।
गण्डकी प्रदेश सभाकी उपसभामुख सिर्जना शर्माले योग्यता र क्षमता भएकाले तुम्बाहाम्फेलाई नै सभामुख बनाउँदा उचित हुने बतइन् ।
‘सातवटै प्रदेशमा महिला सभामुख छैनन्, प्रतिनिधी सभामा भइदिए राम्रो हुन्थ्यो,’ उनले भनिन् ।
त्यस्तै कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती (विष्ट)ले उपसभामुखमाथि षड्यन्त्र रचिए मान्य नहुने प्रतिक्रिया दिइन् ।
सुदुपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीले उपसभामुखलाइ राजीनामा गराएर उल्टो बाटोमा नहिँड्न शीर्ष नेतृत्वलाई सुझाव दिएकी छिन् ।
‘कृष्णबहादुर महराले गरेको गल्तीको सजाय उहाँलाई दिने संवैधानिक आधार हामीले कहिँ पनि भेटेका छैनौं । र पार्टीले राजीनामा माग्ने संवैधानिक आधारहरु पनि छैन्’, उनले भनिन्, ‘संविधानमा पार्टीले राजीनामा मागे भन्ने त छैन् । कि त उहाँले स्वैक्षिक रुपमा राजीनामा दिनु पर्यो । उहाँ सभामुखका लागि सक्षम हुनुहुन्छ ।’
उनले पनि महिला भएकै कारणले शिवमायामाथि अन्याय गर्न नमिल्ने बताइन् ।
उनी भन्छिन्, ‘त्यो ठाउँमा कानुनमा डाक्टर गरेको कोही पुरुष हुन्थ्यो भने सायद उहाँलाई नै सभामुख बनाउथे होला । हामीसँग पितृ सत्तात्मक सोच अझै पनि कायमै छ । त्यो सोचका कारण उहाँमाथि अन्याय गरिन्छ भने हामीलाई सह्य हुँदैन् ।’
उनले उपसभामुलाई राजीनामा गराएर बाइपास गरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएकी छन् । उनले महिला आन्दोलनको विषय नै यही विषयलाइ बनाउने बतइन् ।
‘ हिजो ओनसरी हुँदा धेरै राम्रोसँग संसद चलाएकै हो । युद्धबाट एक्कासी राजनीतिमा आएर पनि सुवास नेम्वाङको भन्दा कमजोर त हामीले भेटेका थिएनौं नि !’, उनले भनिन्, ‘अहिलेको राष्ट्रपतिले राम्रै सञ्चालन गर्नु भएको छ । जहाँ महिलाले नेतृत्व गरेका छन् कही पनि विवाद आएो हामीले भेटेको छैन् । हामीले पाएको जिम्मेवारीमा कही पनि कमेन्ट आएको छैन् । शिवमाया एउटा नेता हो नेतृ होइन । जिम्मेवारीलाई लिङ्गको आधारमा निर्धारण गर्नुहुँदैन् ।’
महराको गल्तीमा सति जान्नः
उपसभामुख तुम्वाहाङ्फेले कृष्णबहादुर महराको गल्तीको सजाय आफू नलिने बताएकी छन् । उनले आफूले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै उक्त पद लिन आफू सक्षम रहेको बताउँदै आएकी छन् । ‘महिला भएको नाताले मैले पनि पार्टीमा लामो समय योगदान गरेकी छु’, उनले भनिन, ‘महराले गरेको गल्तीको सजायमा म सति जानुपर्छ भन्ने छैन् । पार्टीले उर्पयुक्त निर्णय गर्नु उचित हुन्छ ।’
अोली र प्रचण्डबीच जुटेन सहमति !
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा संसदको प्रतिनिधिसभाले सभामुख पाउन सकेको छैन् । दुई अध्यक्षले सभामुखको विषयमा सहमति जुटाउन सकेका छैनन् । पूर्व एमालेले माओवादीले पहिले नै सभामुख पाइसकेकाले अब आफूहरुले सभामुख पाउनुपर्ने बताउँदै आएका छन् ।
माओवादीका नेताहरुले सभामुखमा पार्टी एकता पहिले आफूहरुको भागमा परेकाले अब पनि सभामुख आफूहरुले नै पाउनुपर्ने माग गरेका छन् । एमालेले पूर्वसभामुख सुवास नेम्वाङको नाम अगाडि सारेको छ भने माओवादीले अग्नी सापकोटाको नाम सभामुखमा लैजाने सहमति गरिसकेको छ ।
सभामुखमा सहमति जुट्न नसक्दा गत शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस १६ गतेका लागि बोलाइएको छ । सभामुखको विषयमा सहमति जटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी छ । ओलीले नेम्वाङलार्य नै सभामुख बनाउने अड्डी कसेको स्रोतले बतायो ।




प्रतिक्रिया