काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आजको सचिवालय बैठकले प्रतिनिधिसभामा रिक्त सभामुख पदको सन्दर्भमा निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘रिक्त पदमा हाम्रो पार्टी नेकपाको तर्फबाट उम्मेदवारी दिनेछ, त्यसका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वा्चित माननीय शिवमाया तुम्बाहाङफेले राजीनामा दिने निर्णय गरेको छ ।’
उपसभामुखले राजीनामा दिएपछि मात्र सभामुखको बन्ने भन्ने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ ।
सभामुखको टुंगो नलाग्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो । अर्को बैठक आइतबार बस्दैछ । नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ ।
सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ ।
राजीनामा दिन्नः उपसभामुख
उपसभामुख तुम्बाहाङफेले पार्टीले जे निर्णय गरे पनि राजीनामा नदिने स्पष्ट पारेकी छन् । उनले आफूलाई पार्टीले दिएको निर्देशन थाहा नभएको र राजीनामा पनि नदिने स्पष्ट पारेकी हुन् ।
‘मलाई पार्टीको निर्णय थाहा छैन् र राजीनामा पनि दिन्न’, उनले भनिन् ।




प्रतिक्रिया