काठमाण्डु – शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’को सुरुवात गरेको छ ।
२०८२ भदौ २ गते मेडिसिटी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक शुभारम्भ गरिएको हो ।
व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख रुपैयाँसम्मको बीमा गर्न सकिने भएकाले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने विश्वास गरिएको छ ।
स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमा रकमको १० प्रतिशत रकम (अधिकतम १ लाख रुपैयाँसम्म) को बहिरङ्ग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नुपर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ ।
नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकाले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झटरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ ।
कम्पनीले भनेको छ – शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री हस्पिटलाइजेसन र ६० दिनसम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचारअन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।
शिखर स्वास्थ्य सुरक्षा बीमा अन्तर्गत दाबी नपरेको अवस्थामा बीमालेख नवीकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकाले दीर्घकालीन रूपमै बीमा योजनाबाट बिमितले लाभ प्राप्त गर्न सक्ने जनाइएको छ ।
बीमा सेवा नेपालमा बस्ने नेपालीका साथै नेपालमा बस्ने विदेशी नागरिकहरूले समेत प्राप्त गर्न सकिने शिखर इन्स्योरेन्सले जनाएको छ ।




प्रतिक्रिया