काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस जाने भएका छन् । चैत २७ र २८ गते मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल बिहीबार मौरिसस जान लागेका हुन् ।
परराष्ट्रमन्त्रीको यो पहिलो विदेश भ्रमण हो ।
मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नवौं संस्करणको मुख्य नारा ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ रहेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्री खनाल सम्मेलनमा सहभागी हुन मौरिसस जान लागेको जानकारी दिए । कार्यक्रममा भारतका विदेशमन्त्री एस। जयशंकरसहित विभिन्न मुलुकका मन्त्रीहरू सहभागी हुँदै छन् । मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग ‘साइड लाइन’ भेटवार्तासमेत गर्नेछन् । अन्य मुलुकबाट आएका नेताहरूसँग पनि मन्त्री खनालको भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि सम्बोधन गर्नेछन् । त्यस्तै कम्बोडिया, इजिप्ट, माडागास्कर, साउदी अरेबिया, सिंगापुर, कोम्बो, थाइल्यान्ड, यूकेका अधिकारीहरू पनि सहभागी हुने आयोजक इन्डिया फाउन्डेसनले उल्लेख गरेको छ ।
इन्डिया फाउन्डेसनले सन् २०१६ देखि यो कार्यक्रम गर्दै आएको छ । सम्मेलनमा नेपालका तर्फबाट सहभागिता रहँदै आएको छ । गतवर्ष फेब्रुअरीमा मस्कटमा भएको आठौं सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी भएकी थिइन् ।
हिन्द महासागर क्षेत्रमा सुरक्षा र स्थिरता, समुद्री व्यापार, आर्थिक सहकार्य, जलवायु परिवर्तन र समुद्री स्रोतको संरक्षणमा संयुक्त रणनीति बनाउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिँदै आएको छ ।
८ वर्षमा यो सम्मेलन हिन्द महासागर क्षेत्रका मुलुकहरूका लागि पारस्परिक मुद्दाहरूमा छलफल गर्ने प्रमुख मञ्च बनेको इन्डिया फाउन्डेसनको वेब साइटमा उल्लेख छ ।
क्षेत्रीय सुरक्षा र विकासका लागि सहयोगको सम्भावनाहरूमाथि छलफल गर्न यस क्षेत्रका साझेदारहरूलाई साझा मञ्चमा ल्याउने कार्य सम्मेलनले गर्दै आएको पनि फाउन्डेसनले जनाएको छ ।




प्रतिक्रिया