काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्रहरू बनाउनु आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाण्डुमा आयोजित पहलगाममा भएको आतंकवादी हमलापछि त्यसको दक्षिण एसियामा के कस्तो असर परेको छ र नेपालले सिक्ने विषय के–के छन् भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रमपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपाल–भारतको खुला सिमानाको कारण हमला हुने जोमिख रहेको कारण नेपालले इन्टिलिजेन्स शेयरिङका बलिया द्विपक्षीय संयन्त्रहरू बनाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘पहलगाममा भएको आक्रमणमा भारतले प्रतिक्रिया दियो । त्यसले गर्दा पनि हामीलाई गम्भीर हुनुपर्ने देखिन्छ । किनकि नेपाल र भारतमा १ हजार ७०० किलो मिटर लामो सिमाना छ । यो खुला सिमाना पनि छ । जो पनि जताबाट छिर्न सक्ने अवस्था छ । आतंकवादीहरू छिर्ने र नेपाली भूमि प्रयोग गरी भारतमा आक्रमण गर्न थाले भने, त्यस्तो आतंकको सम्भावना नेपालमा पनि हुनसक्छ । त्यसैले हामीले बलियो संयन्त्रहरू आतंकवादसँग सम्बन्धित रहेर इन्टिलिजेन्स शेयरिङका बलिया द्विपक्षीय संयन्त्रहरू बनाउनु आवश्यक छ ।’
अहिले आतंकवाद कुनै एउटा भूगोलमा भए पनि त्यसको असर संसारभर नै देखिन थालेको उनले बताए । विभिन्न देशमा भएका आतंकवादसँग सम्बन्धित घटनाहरूमा नेपाल पनि जोडिन पुगेकोमा उनले चिन्ता व्यक्त गरे ।
‘अहिले आतंकवाद कुनै एउटा भूगोलमा भए पनि त्यसको असर संसारभर नै देखिन्छ । पहलगाममा घुम्न गएका १ जना नेपालीको मृत्यु नै भयो । गत वर्ष इजरायलमा भएको घटनामा पनि १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । आतंकवादसँग सम्बन्धित घटनाहरूमा हामी पनि जोडिएको र जोडिन परेको परिस्थितिमा फसेको देखिन्छ,’ उनले भने ।




प्रतिक्रिया