सहकारी समस्या समाधानबारे छलफल गर्न शीर्ष नेताहरू बालुवाटारमा

सहकारी समस्या समाधानबारे छलफल गर्न शीर्ष नेताहरू बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारीको बचत हिनामिनामा मुछिएको आरोपसहित छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागपछि देखिएको राजनीतिक ध्रुविकरणलाई अन्त्य गर्ने प्रयास गर्न मुख्य दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

सहकारीको बचत हिनामिनाको छानबिनबारे कांग्रेसले नयाँ प्रस्ताव अघि सारेपछि सत्तापक्ष र कांग्रेस नेताहरूबीच छलफल भइरहेको हो ।

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले सिधै रवि लामिछानेको नाम राख्नुको साटो उनी जोडिएका सहकारीको नाम राखेर समितिको कार्यादेश बनाउन सकिने लचकतासहितको प्रस्ताव बिहान बसेको बैठकमा राखेको थियो ।

कांग्रेसको प्रस्तावमा यसअघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल भएको थियो ।