काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् ।
तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्कनुअघि दिल्लीस्थित नेपाली दूतावासमा भारतीय सञ्चार माध्यमका प्रतिनिधिसँगको कुराकानीमा खनालले यस्तो बताएका हुन् ।
खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बेलायतको मध्यस्थताबारे नबोलेको दाबी गरे । गत साता प्रधानमन्त्रीले सीमा विवादबारे ‘इंग्ल्याण्ड’ सँग पनि वार्ता गर्ने बताएका थिए । \
खनालले बेलायतका पुस्तकालय वा संग्रहालयहरुमा सीमासम्बन्धी दस्तावेज हुन सक्ने भएकाले त्यसको अध्ययन गर्ने आशयसहित प्रधानमन्त्रीको अभिव्यक्ति आएको दाबी उनको थियो ।
‘हामी बेलायतका पुस्तकालय वा संग्रहालयमा भएका दस्तावेजमा के रहेछ भन्ने हेर्न चाहन्छौं’, खनालले भने, ‘प्रधानमन्त्रीले पनि बेलायतको मध्यस्थता खोज्ने कुरा गर्नुभएको छैन । त्यसरी मध्यस्थता खोज्नु ठीक पनि होइन ।’
नेपालले आफ्नो भूमिबारे लामो समयदेखि दाबी गर्दै आएको र वर्तमान सरकारले पनि लिपुलेक र कालापानी भएर व्यापारिक मार्ग सञ्चालन गरिएको विषयमा भारत र चीन दुवैलाई कुटनीतिक नोटमार्फत आफ्नो धारणा स्पष्ट गरिसकेको जवाफ उनले दिए ।
दुई छिमेकीले नेपाली भूमि प्रयोग गर्दा आफूहरुलाई बाइपास गरिएको विषयमा आफूहरुले ध्यानाकर्षण गराइसकिएको स्पष्ट गरे ।
उनले सीमा विवादबारे दुई पक्षीय वार्ता र कूटनीतिक संयन्त्रका माध्यमबाट समाधान गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको खनालको भनाइ थियो ।
भारतीय पत्रकारले बेलायतलाई नेपाल–भारत सीमाबारे आधिकारिकता बुझ्न पत्राचार गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्री खनाललाई सोधेका थिए । त्यसबारे उनले स्पष्ट जवाफ दिएनन् ।




प्रतिक्रिया