काठमाण्डु- फिल्म ‘शिवांशः च्याप्टर १’ बन्ने बन्ने भएको छ । निर्माणटिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् ।
अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्छ ।
तर, कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो ।
यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतको पनि अभिनय रहनेछ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।
चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।
चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बुको हुन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन् ।
यो फिल्म आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया