महिलाको सशक्तीकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

महिलाको सशक्तीकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ


काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तीकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् ।

मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तीकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तीकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’

मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन् । उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको छ भने मधेश प्रदेशमा यो आँकडा अझै कम रहेको बताइन् ।

उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ । नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेशमा त्यो आकलन अझ कम छ । सबै दिदीबहिनीहरूले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’

कार्यक्रममा उनले सबै दिदीबहिनीलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् ।