काठमाण्डु– टिकाराम बुढाथाेकीले सञ्चालन गरेकाे श्रीकेश तेल उत्पादक कम्पनी ‘सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्री’लाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
गुणस्तर पुष्टि हुन नसकेपछि २ लाख रुपैयाँ जरिवाना तिराइएकाे हाे ।
कामपाले गत असार ७ गते विवरण माग गरेकाे विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नभएकाे हाे ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेखसमेत नपाइएको हो ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको छ । ‘सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरुमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको छ । तेलको लेबलमा उल्लेख भएका तत्वहरु र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन,’ प्रतिवदेनमा भनिएको छ ।
लेबलमा उल्लेख फाइदाहरु (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चाया रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औंल्याएको छ ।
तेलको लेबलमा उल्लेख गरिएको उपभोग्य/प्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त नभएको महानगरले उल्लेख गरेकाे छ ।




प्रतिक्रिया