काठमाण्डु – नेपाल सरकारले श्रीलंकामा आएको विनाशकारी बाढीप्रति गहिरो दु:ख व्यक्त गर्दै मानवियता र मित्रताको आधारमा सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
हालैको बाढीले श्रीलंकामा ठूलो जनधनको क्षति पुगेपछि नेपाल सरकारले समवेदना व्यक्त गर्दै राहत तथा पुन:स्थापना कार्यका लागि २ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा श्रीलंकामा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दु:खी परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
विज्ञप्तिमा नेपाल–श्रीलंकाबीचको घनिष्ठ मित्रता र सहयोगको भावना झल्किने उल्लेख गरिएको छ । नेपाल सरकार र नेपाली जनता श्रीलंकाका नागरिकहरूको धैर्य, सामर्थ्य र पुनर्निर्माण क्षमतामाथि भरोसा रहेको समेत उल्लेख छ ।
सहायता नेपालको तर्फबाट श्रीलंकालाई प्रदान गरिएको ऐक्यबद्धताको प्रतीक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया