काठमाण्डु प्रहरी परिसर प्रमुखबाट एसएसपी ज्ञवालीको सरुवा गर्ने तयारी


काठमाण्डु – काठमाण्डु प्रहरी परिसर प्रमुखबाट एसएसपी श्याम ज्ञवालीको सरुवा गर्ने तयारी भएको छ ।

गृहस्रोतले दिएको जानकारीअनुसार उनको ठाउँमा एसएसपीद्वय रामदत्त जोशी र अशोक सिंहमध्ये एक जनालाई जिम्मेवारी दिने तयारी भएको छ ।

एसएसपी ज्ञवालीले गत फागुनमा काठमाण्डु प्रहरी परिसर प्रमुखको जिम्मेवारी पाएका थिए । एक वर्ष नपुग्दै उनको ठाउँमा नयाँ एसएसपीलाई पठाउने तयारी भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल एसएसपी सिंहको पक्षमा छन् भने प्रहरी महानिरीक्षक शैलेश थापा र एआईजीपी निरज शाही एसएसपी जोशीलाई पठाउनुपर्ने पक्षमा छन् ।

आईजीपी थापाले कुनै पनि अधिकृतको सरुवा एक वर्ष नपुगी नगर्ने सार्वजनिक अभिव्यक्ति दिइरहँदा काठमाण्डु प्रहरी परिसर प्रमुखको वर्षदिन नपुग्दै सरुवा गर्ने तयारी भएको हो ।

त्यसैगरी ललितपुरका प्रहरी प्रमुखमा एसएसपी किरण बज्राचार्यलाई पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो । ललितपुरका प्रहरी प्रमुखको एक वर्षे अवधि पूरा भइसकेको छ । ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement