स्याङ्जामा एसपी बोगटीले ल्याए नयाँ अभियानः प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने


काठमाण्डु – नागरिकको सुरक्षाका लागि अग्र स्थानमा रहेर काम गर्ने नेपाल प्रहरीले स्यांजामा नयाँ अभियान चलाएको छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै स्याङ्जामा नयाँ अभियान चलाएको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जाने एसपी बोगटीको भनाई छ । बोगटीले ल्याएको नौलो अभियानमा प्रहरी कर्मचारीले प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्नेछ ।

परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले बताए ।

पारिवारिक सम्बन्ध राम्रो भए–नभएको दैनिक फोन गरेको–नगरेको वा बिदामा घर गएको नगएको हेर्र्ने जिम्मेवारी भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीलाई दिइएको छ । डीएसपी अधिकारीका अनुसार सो अभियानपश्चात जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement