काठमाडौं – बलात्कारको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परेका छन् । बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले आज (सोमबार) बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
बिहान ४ बजे पक्राउ गरिएको उनलाई एम्बुलेन्समा राखेर सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ । आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।
सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन् । घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ । आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै (१२ मंसिर)अस्पताल भर्ना भएका थिए ।
आईसीयूमा उपचार गराइरहेकै बेला उनलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो । योगसाधनामा सिद्धपुरुष, बनस्पती गुणमा बिद्यावारिधि हासिल गरेको डाक्टर वताउने कृष्णदास सुनसरीको वराहक्षेत्र नगरपालिका २ चराराधाम स्थित आश्रममा बस्दै आएका छन् ।




प्रतिक्रिया