काठमाडौं – अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका चताराधामका सिद्धबाबा कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दस दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरी प्रवक्ता विनोद शर्माले बताए ।
गिरीलाई यसअघि चार दिन र सात दिनको अनुमति लिइएको थियो । यससँगै अब तीन दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ ।
गिरी भने अदालतले दिएको अनुमति अवधिभर अस्पतालमै बसेका छन् । उनलाई विराटनगर अस्पतालमा राखिएको छ । डाक्टरले मुटुमा समस्या रहेको भन्दै उनलाई आइसियुमा राखेको छ ।
एक अनुयायी महिलाले गत मंसिर ४ गते बलात्कार गरेको भन्दै महिला सुनसरी प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि गिरी अस्पताल भर्ना भएका थिए । सघन उपचार कक्षबाटै मंसिर १६ गते उनलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया