नेपाल र जर्मनबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता

नेपाल र जर्मनबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी २ महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

यी सम्झौताहरूले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाण्डुस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’मा सहयोग स्वरूप २० मिलियन युरोसम्मको प्रतिबद्धता जनाएको छ ।

परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत् सेवा सुनिश्चित गर्नेछ । परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुनेछ ।

सम्झौताको कार्यान्वयन ५ वर्षभित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ । प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ ।

यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले निम्न क्षेत्रमा सहयोग पुर्‍याउनेछ:

१) स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन,

२) कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रम,

३) शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ, जसले दीगो विकासमा योगदान पुर्‍याउने,

४) थप रूपमा ‘अध्ययन तथा विज्ञ कोष’मार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान,

प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत ५ वर्षभित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दीगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताएका छन् ।  

उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन सहकार्य र महत्त्वपूर्ण योगदानप्रति धन्यवाद पनि व्यक्त गरे । कार्यक्रममा जर्मन संघीय गणतन्त्रका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा,  दीगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।