आज नआउने भयो शिक्षा विधेयक

आज नआउने भयो शिक्षा विधेयक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट आइतबार पनि शिक्षा विधेयक पारित हुन सकेन । समितिले विधेयक पारित गर्न तयारी गरे पनि सहमति नजुटेपछि बैठक निष्कर्षविहीन भएको हो ।

समितिका सभापति अम्मर बहादुर थापाले आइतबार सहमति नजुटेको बताउँदै सोमबार बिहान ८ बजे फेरि बस्ने बताए ।

सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएको थियो ।

सहमतिपछि शिक्षकहरू २९ दिनसम्म आन्दोलन गरी घर फर्किएका थिए । तर, सहमतिअनुसारको मितिमा शिक्षा विधेयक जारी हुन सकेन ।

समितिमा एसईई प्रदेश तहबाट सन्चालन गर्ने, जिल्लामा शिक्षा विकास तथा समन्वय एकाई राख्ने, निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने लगायतका विषयमा सहमति जुटेको छ ।

समितिले विधेयकमा पेचिला बनेका विषयको टुङ्गो लगाए पनि समग्र छलफल अझै बाँकी रहेको छ । विधेयकमा सबैभन्दा पेचिलो बनेको निजी विद्यालय र बालविकास केन्द्रको विषय पनि समितिबाट पारित भएको छ ।

निजी विद्यालयलाई शैक्षिक गुठीमा रुपान्तरण गर्ने विषयको आलोचना भइरहेका बेला लोककल्याणकारी सेवामूलक हुने गरी क्रमशः गैर नाफामुलक गर्ने गरी पारित गरेको छ । समितिले बालविकास केन्द्र (ईसीडी) दुई वर्षको बनाउने निर्णय पनि गरेको छ ।

आन्दोलन थाल्ने चेतावनी

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जसरी भए पनि आइतबार नै समितिले सदनमा शिक्षा विधेयक पेस गर्नुपर्ने माग गरेकी छिन् । यदि पेस नभए बैठक बसी थप आन्दोलन घोषणा गर्ने उनले चेतावनी दिइन् ।

उनका अनुसार महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र शिक्षा सभापति अम्मरबहादुर थापालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका छन् ।