सीके राउतले मधेस आन्दोलनका सहिदको सम्मानमा रोस्ट्रमबाटै मौनधारण गरेपछि…

सीके राउतले मधेस आन्दोलनका सहिदको सम्मानमा रोस्ट्रमबाटै मौनधारण गरेपछि…


काठमाण्डु- जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालको राजनीतिमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरेको दावी गरेका हुन् । देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको उनको भनाइ छ ।

उनले मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको समेत दावी गरे । ‘कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’, उनले भने ।

त्यस्तै सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरे । मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठेका थिए।