यसकारण जनमतलाई उद्योग मन्त्रालय दिन सक्छन् प्रधानमन्त्री प्रचण्ड

यसकारण जनमतलाई उद्योग मन्त्रालय दिन सक्छन् प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा आइतबार टुङ्गो लाग्ने भनिएपनि यसबारे केही छलफल भएको छैन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा आजसम्म टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर, आज विदा भएको कारण यसबारे छलफल नभएकाले सोमबार टुंगो लाग्ने भएको हो ।

जनमत पार्टीका सांसद तथा विनाविभागीयमन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लाग्ने बताए । भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति रुष्ट बनेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूले माग गरेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिइसकेका छन् । सत्ता गठबन्धनले पनि राष्ट्रपतिको निर्वाचनलाई हेर्दै सिके राउतले माग गरेको उद्योग मन्त्रालय दिने तयारी गरेको छ ।

यदि सिके रावत नेतृत्वको जनमत सरकारबाट बाहिरिए राष्ट्रपतिको निर्वाचनमा ठुलो धक्का लाग्ने सत्ता गठबन्धनको बुझाइ छ । जनमत पार्टीले उद्योग मन्त्रालय नपाउने हो भने खानेपानी मन्त्रालयसँगै वन तथा वातावरण मन्त्रालय पनि पाउनुपर्ने माग गरेको छ ।