उपेन्द्र यादव र सीके राउतबीच द्वन्द्वः मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीको ताला

उपेन्द्र यादव र सीके राउतबीच द्वन्द्वः मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीको ताला


काठमाण्डु- जनमत पार्टीले अनियमितता भइरहेको भन्दै मधेश कृषि विश्वविद्यालयमा तालबन्दी गरेको छ। जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको अनियमितता रोक्नुपर्ने, विश्वविद्यालय भवन निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने माग गरेको छ।

त्यस्तै परीक्षा बोर्ड विना नै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने, विश्वविद्यालयका कर्मचारी नियुक्तिमा भएको राजनीतिकरण बन्द गर्नुपर्ने माग गरेको छ।

यी माग राखेर उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्। आफूहरूले राखेका मागमा विश्वविद्यालय गम्भीर नदेखिएकाले तालाबन्दी गर्नुपरेको जनमत पार्टीले जनाएको छ। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। तालाबन्दी गरेपछि कार्यकर्ताहरुले नाराबाजीका साथै टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

त्यस्तै विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएकोमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आपत्ति जनाउँदै आएका थिए । उनले शिलान्याश कार्यक्रममा जसपाका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

राउतले विश्वविद्यालयको भवन निर्माणलगायत अन्य कार्यका लागि ३० करोड बजेट दिलाउन आफूले पहल गरेको तर सप्तरी–२ को सांसद नै रहेका उपेन्द्र यादवलाई के आधारमा प्रमुख अतिथि बनाइयो भन्ने प्रश्न गरेका थिए ।

अध्यक्ष राउत सप्तरीमै रहेको बेला विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोमबार विश्वविद्यालय भवनको शिलान्याश कार्यक्रम छ । त्यसको प्रमुख अतिथि जसपा अध्यक्ष उपेन्द्र यादवलाई राखिएको छ । तर, कार्यक्रममा निमन्त्रणाका लागि बाँडिएको पत्रमा प्रमुख अतिथि को हुने भन्ने खुलाइएको छैन ।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय स्थापना गरेको हो। विश्वविद्यालय सभाको अध्यक्ष प्रदेशको शिक्षामन्त्री रहने व्यवस्था छ। अहिले मधेश सरकारमा जनमत पार्टीकै महेशप्रसाद यादव शिक्षामन्त्री छन्।