संसद भवनमा सिलवाल देखिएपछि नेपाल प्रहरीमा हलचल


काठमाडौं –सांसद समेत रहेका नेपाल प्रहरी पूर्व डिआइजी नवराज सिलवाल संघीय संसद भवनभित्र छिरेका छन् । नयां बानेश्वरमा आयोजित एमाले–माओवादीका सांसदलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा दिने प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन छिरेका हुन् ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभामा विजयी सांसदलाई प्रहरीले यसअघि फरारको सुचीमा राखेर खोजि गरिरहेको थियो । सिलवाल बानेश्वरमा देखिएपछि सबैको ध्यान उनैतर्फ मोडिएको थियो । उनलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वाग्रह सांधेर झुठो मुद्दा लगाएका थिए । सिलवाललाई बानेश्वरमा सुरक्षामा खटिएको प्रहरीले सलाम गरेको प्रत्यक्षदर्शी एक सांसदले काठमाडौंपाटीलाई बताए ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका भनिएका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपनि नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले भने यसबारे आफूलाई जानकारी नभएको बताए । कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा बयान दिइसकेका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पनि सिलवाल वानेश्वरमा देखिएकोबारे आफुलाई जानकारी नभएको बताए ।

संसद भवनको प्रवेशद्धारमा कडा सुरक्षा चेक भएपनि सिलवाललाई भने प्रहरीले कुनै रोकटोक गरेन् । सिलवालविरुद्धको मुद्दा हाल सरकारी वकिलको कार्यालयमा थन्किएको छ । उनलाई कार्वाही गर्न नमिल्ने अडान सरकारी वकिल कार्यालयले राखेपछि तत्कालिन महान्यायाधिवक्ताको उनिविरुद्ध मुद्दा चलाउने योजना तुहिएको थियो ।

एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार रहेका सिलवाल ललितपुर १ बाट पुर्व अर्थराज्यमन्त्री उदयशमशेर राणालाई हराउदैं सांसदमा निर्वाचित भएका थिए । सिलवाल आईतबारका लागि तोकिएको संघीय संसदका सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुंदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement