काठमाण्डु – भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालका सीमा नाकामा कडाई गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा नाइट कर्फ्यु जारी गरेको छ ।
महाराष्ट्र, तमिलनाडु, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतसँगै नेपालमा पनि सुरु हुने कोरोना महामारीको सम्भावनालाई ध्यानमा राखेर सरकारले सभा, जुलस, भेला, –याली, बैठक तथा भीडभाड नगर्न भनेको छ ।
विभिन्न गाउँ, नगर र जिल्लाले क्वारेन्टिन ब्यूँताउन थालेका छन् । त्यसैगरी विदेशबाट आउनेलाई कडाई गर्न थालिएको छ ।
सीमा नाकामा के छ तयारी ?
केही दिनदेखि सीमा–नाकालक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन् ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भारतमा रात्रिकालीन कर्फ्यू लगाइएपछि कामको सिलसिलामा रहेका नेपालीहरू बस्न गाह्रो भएर नेपाल फर्केर आउने विषयमा आफुहरु सचेत रहेको बताए । उनले केही दिनयता भारतका विभिन्न स्थानमा संक्रमण बढेपछि नेपाल–भारत सीमामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाइएको बताए ।
‘त्यहाँ जति कडाइ गरिँदै जान्छ नेपाल फर्केर आउने क्रम बढ्न सक्छ । त्यसैले हाम्रो पहिलो काम प्रवेश बिन्दुहरूमा रहेका हेल्थ डेस्कहरूलाई थप सचेत बनाएका छौं ।’
खासगरी लक्षणसहितका बिरामीहरू आएको खण्डमा उनीहरूको एन्टिजन परीक्षण गर्ने र उनीहरू प्रवेश गरेपछि विदेशबाट नेपाल आएकाहरूले पालना गर्नुपर्ने क्वारन्टीनका नियमहरू कडा रूपमा पालना गराउन स्थानीय निकाय र सम्बन्धित पालिकाहरूको सहयोग लिने नीति आफूहरूले लिन लागेको उनले जानकारी दिए । पछिल्लो समय विश्वमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा पर्न थालेको छ ।
अधिकारीहरूका अनुसार नेपालमा रक्सौल, जोगबनीजस्ता नाका हुँदै धेरैजसो मालसामान आयात गर्ने गरिन्छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, रूपेडिया, जमुनाहा, कृष्णनगर र काँकडभिट्टाजस्ता नाकाबाट धेरै मानिस आउने हुँदा हेल्थ डेस्क राखिएको अधिकारीहरू बताउँछन् ।




प्रतिक्रिया