काठमाण्डु– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ ।
पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको हो ।
निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा रहेको छ ।
फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।
सहायक प्रजिअ पोखरेलले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि समेत आह्वान गरेका छन् ।
होलीको अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि देखिएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया