काठमाण्डु – चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २ जनाको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ ।
दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
पछिल्लो तथ्यांक अनुसार वीरगञ्जबाट काठमाण्डु आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेका खुलेको छ ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।




प्रतिक्रिया