रौतहट – बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच ३ विषयमा सहमति भएको छ ।
जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत ३ वटा विषयमा छलफल गरी सहमति भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकारात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । पक्राउ पर्न बाँकी रहेकालाई नियन्त्रणमा लिएर निष्पक्ष कारवाहीको माग गर्दै ३ दिनसम्म पर्खिने उनले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने बताए । प्रशासन र जेनजी समूहबीच भएको सहमतिसँगै शनिबार सिमराको जनजीवन सामान्य बनेको छ भने यातायात निर्वाध रूपमा सञ्चालनमा रहेको छ ।
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ । जेनजी समूह र एमाले कार्यकर्ताबीचको झडपपछि २ दिनदेखि सिमरा अशान्त बनेको थियो । सोही घटनापछि उनलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन् ।
एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण केही दिनदेखि सिमरा अशान्त बनेको थियो ।




प्रतिक्रिया