सिन्धुपाल्चोकमा सभामुखविरुद्ध विद्रोह गर्ने बस्नेतको तयारी, ब्याक हट्लान अग्नी सापकोटा ?

सिन्धुपाल्चोकमा सभामुखविरुद्ध विद्रोह गर्ने बस्नेतको तयारी, ब्याक हट्लान अग्नी सापकोटा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ ।

विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन क्षेत्र लक्षित चुनावी कार्यक्रम अघि बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लैले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यसका लागि ठूला तथा साना राजनीतिक दलका उम्मेदवारहरु तीव्र तयारीमा जुटेका छन् । गठबन्धनका कारण कतिपय उम्मेदवारहरुले टिक नपाउने भएका छन् ।

यस्तो अवस्थामा संविधान जारी भएपछिको पहिलो चुनावमा चर्चाको शिखरमा रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पनि यस्तै समस्या देखिने भएको छ ।

योपटक यस क्षेत्रमा सभामुख अग्नि सापकोटा र नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबीच कडा टक्कर हुने देखिन्छ । यसअघि ०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट बाम गठबन्धन गरेर एमालेको सहयोगमा माओवादी केन्द्रका सापकोटा विजयी भएका थिए ।

उनले ४०५०४ मत ल्याएर बस्नेतलाई पराजित गरेका थिए । बस्नेतले २९७९८ मत ल्याएका थिए । बस्नेतले यसपटक सापकोटालाई नछोड्ने अडान लिएका छन् । आगामी निर्वाचनमा आफूले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यको टिकट पाउनुपर्ने उनको दाबी छ ।

सभामुखविरुद्ध विद्रोह गर्ने तयारी गरेका बस्नेतले अन्यत्र गठबन्धन गर्न आग्रह गर्दै सिन्धुपाल्चोकमा गठबन्धन नगर्ने घोषणा गरे । उनले कांग्रेस केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘म गठबन्धनको विपक्षमा छैन । अन्यत्र ठाउँमा गरौं । तर, मेरो निर्वाचन क्षेत्रमा गठबन्धन हुँदैन । मेरो सिट धरापमा पर्‍यो र म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ ।’

नेता बस्नेत सोही निर्वाचन क्षेत्रबाट २०५४ र २०७० मा गरेर दुई पटक सांसद निर्वाचित भएका थिए । तर, २०६४ मा भने उनी माओवादीका उम्मेदवार सापकोटासँग पराजित भएका थिए । बस्नेतले आफ्नो अडान कायम राखिरहेका बेला सभामुख सापकोटा भने निर्वाचन क्षेत्र सार्ने तयारी रहेको बुझिएको छ ।

उनले क्षेत्र नम्बर दुईबाट चुनाव लड्न सक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । क्षेत्र नम्बर दुईमा अघिल्लो निर्वाचनमा एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए । यो पटक उक्त क्षेत्रमा राप्रपाबाट पशुपतिशमशेर जवरा पनि प्रतिस्पर्धी छन् ।

केन्द्रले गठबन्धन गरेर जाने निर्णय गरिसकेका बेला यस क्षेत्रमा भने बस्नेतले सापकोटाविरुद्ध विद्रोह गर्ने तयारी गरेका छन् । यस्तो अवस्थामा अब गठबन्धनले के निर्णय गर्ला भन्ने चौतर्फी जिज्ञासा बढाएको छ ।