काठमाण्डु – सभामुख अग्नि सापकोटाको गृहजिल्लासमेत रहेको सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन् । तीमध्ये तीनवटा नगरपालिका छन् । एमालेका अमृत बोहरा र अरुण नेपाल तथा कांग्रेसका मोहन बस्नेत जिल्लाका चर्चित नेता हुन् । बागमती प्रदेशमा पर्ने यो जिल्ला माओवादी सशस्त्र युद्धबाट बढी प्रभावित थियो ।
जिल्लामा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको स्थानीय चुनावको नतिजाअनुसार जिल्लामा एमाले पहिलो दल हो । कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ । तर, अधिकांश स्थानमा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।
अघिल्लो चुनावमा एमालेले सातवटा पालिकामा जित निकालेको थियो । कांग्रेसले तीन र माओवादी केन्द्रले दुई पालिका जिते । एमालेले बाह्रबिसे र मेलम्ची नगरपालिकाको मेयर–उपमेयर तथा जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी–थाङपाल, बलेफी र लिसंखु–पाखर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको थियो । कांग्रेसले इन्द्रावती, सुनकोसी र हेलम्बु गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्यो ।
माओवादी भने सदरमुकामसमेत रहेको चौतारा–साँगाचोकगढीको मेयर–उपमेयर तथा भोटेकोसी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्न सफल भयो । गत चुनावमा एमालेले जितेका सबै सात तहमा कांग्रेस र माओवादीको मत मिलाउँदा बढी देखिन्छ । अर्थात् लगभग सबै तहमा त्रिपक्षीय भिडन्त छ । जिल्लाका केही तहमा राप्रपाको पनि प्रभाव छ । माओवादीले चौतारामा फराकिलो अन्तरले जितेको थियो भने भोटेकोसीमा कांग्रेससँग प्रतिस्पर्धा थियो ।
जिल्लाका सबै पालिकामा सत्ता साझेदार दलबीच तालमेल हुन सकेको छैन । केही पालिकामा भने मिलेर उम्मेदवारी दिइएको छ । एमालेले जितेका जुगल र पाँचपोखरी–थाङपाल गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ । दुवैमा माओवादीले अध्यक्ष पाएको छ ।
सभामुखको गाउँसमेत रहेको चौतारा–साँगाचोकगढीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ । अन्यत्र दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । चौतारामा माओवादीबाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिंह तामाङ पछि हटेका छन् । त्यहाँ उम्मेदवारी दर्ताका वेला माओवादीका दुई पक्षबीच झडपसमेत भएको थियो ।
जिल्लामा सबैभन्दा बढी स्थानीय तह जितेको एमालेलाई पुरानो नतिजा दोहोर्याउने चुनौती छ । उसलाई पार्टी विभाजनको असर चिर्नुपर्ने अर्को चुनौती पनि देखिन्छ । पार्टी विभाजन हुनुअघि जिल्लामा माधव नेपाल समूहको प्रभाव थियो । तर, नयाँ पार्टी बनाएपछि सबैजना एकीकृत समाजवादीमा लागेका छैनन् । जिल्लाका केही जनप्रतिनिधिले भने एकीकृत समाजवादी रोजेका छन् ।
एमालेका प्रभावशाली नेता सुभाष कर्माचार्य पनि एकीकृत समाजवादीमा लागेका छन् । यसले एमालेलाई चुनौती थपिएको छ । पार्टी विभाजन र प्रतिस्पर्धी दलबीचको गठबन्धनका कारण सिन्धुपाल्चोकमा एमालेले केही क्षति व्यहोर्ने सम्भावना छ । विगतमा उसले जितेका सातवटा पालिकामध्ये तीनवटासम्म गुमाउन सक्छ ।
कांग्रेस र माओवादी केही सहज अवस्थामा देखिए पनि सबै पालिकामा गठबन्धन हुन नसकेकाले एमाले हौसिएको छ । तर, तीन दलबीच तालमेल भएका दुईवटै गाउँपालिका भने एमालेले गुमाउने सम्भावना बढी छ । ती दुईसहित माओवादीले चारवटा पालिका जित्न सक्नेछ । कांग्रेसले पनि पहिलेभन्दा केही प्रगति गर्न सक्छ । एमालेका लागि भने पुरानै पालिका बचाउनु महाभारत हुनेछ ।
जिल्लामा आगामी चुनावका लागि २ लाख ५५ हजार ७ सय १२ मतदाता छन् । तीमध्ये १ लाख ३२ हजार २ सय १२ पुरुष र १ लाख २३ हजार ५ सय महिला छन् ।
















प्रतिक्रिया