सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्धारा प्रधानमन्त्रीको उपचार सुरु

सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्धारा प्रधानमन्त्रीको उपचार सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट उपचार सुरु गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै ‘प्लाज्मा फेरेसिस’ प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा उपचार शुरु गरिएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

‘प्लाज्मा फेरेसिस’ उपचार प्रक्रिया अरु केही पटक गरिने प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिइन् । प्रत्यारोपण गरिएको मृगौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि गरिने चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई गत बिहीबार उपचारका लागि साताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए ।
के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ । रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ ।

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ । दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ ।