सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।

संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए ।

तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए । ‘हामीले पानी उत्पादन गर्ने थाहा पाएर कर्मचारी सञ्चय कोषले माग गरेको छ, छिटै सप्लाई गर्दै छौँ,’ प्रसादले भने । उनका अनुसार संस्थानको पनौतीस्थित प्लान्टबाट दैनिक पाँच सय जार पानी उत्पादन गर्न सकिन्छ ।

बजारमा अन्य कम्पनीले उपलब्ध गराएकोभन्दा सुरक्षित र गुणस्तरीय भएकाले आफूहरूको पानीको माग बढी भएको महाप्रबन्धक प्रसादले दाबी गरे । ‘माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’

संस्थानका मिनरल वाटर आयोजना प्रमुख मोहनदत्त भट्ट पानीको गुणस्तरमा निकै सावधानी अपनाएको बताउँछन् । ‘बजारमा उपलब्ध अधिकांश जारको पानीमा हानिकारक जीवाणु फेला पर्दै गर्दा हाम्रो उत्पादनमा त्यस्तो केही छैन,’ उनले भने ।

धारामा किन गनाउने हिलो पानी पठाउँछ केयुकेएल ?
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०द्वारा वितरित पानीमा भने उपभोक्ताको धेरै गुनासो छ । केयुकेएलले काठमाडौं उपत्यकाको घरघरमा खानेपानी उपलब्ध गराउने जिम्मा लिएको छ । खानेपानीको नाममा खानै नमिल्ने हिलो गनाउने पानीसमेत उपभोक्ताको घरमा पठाउने गरेको छ ।

लिमिटेडले जमिनमुनिबाट तानेर विनाप्रशोधन सीधै पठाउँदा पैसा तिरेर पनि काठमाडौंका उपभोक्ता हिलो पानी थाप्न बाध्य छन् ।केयुकेएलका जिम्मेवार अधिकारी उपभोक्तालाई जानकारी गराएरै फोहोर पानी वितरण गरेको जवाफ दिन्छन् । प्रवक्ता सुरेश आचार्यले नयाँ पत्रिकासँग भने, ‘उपभोक्तालाई जानकारी दिएरै त्यस्तो पानी पठाउने गछौंँ ।

नपिउनुहोला, थिग्र्याएर घरको अरू काम गर्न मिल्छ भनेर उनीहरूलाई प्रस्ट भनिदिएका छौँ ।’ तर, त्यही फोहोर पानी पठाउने पाइपबाटै लिमिटेडले समय–समयमा रुटिनअनुसार पिउने पानी पनि पठाउने गरेकोसमेत प्रवक्ता आचार्यले हाकाहाकी भने ।

‘लिमिटेडले उपत्यकाको विभिन्न ठाउँमा गाडेको डिप ट्युबेलमा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट नराखेकाले जस्तो तान्यो त्यस्तै वितरण गर्दै आएको छ,’ उनले भने, ‘रुटिनअनुसार कहिलेकाहीँ पिउने पानी पनि सोही पाइपमार्फत वितरण हुँदै आएको छ ।’
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।