सिरहामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

सिरहामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप


काठमाण्डु – सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी गोलबजार सिरहाका अनुसार हिंसात्मक प्रदर्शन भएपछि सो प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप भएको हो ।

किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको सिरहा प्रहरीले जनाएको छ ।

बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौँ गाडी तोडफोड गरेका छन् भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । बन्दकर्ताले तोडफोड गरेको सवारीको विवरण भने आउन बांकी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा अहिले पूर्णरुपमा ठप्प भएको छ । सवारी साधन चल्न सकेका छैनन् । आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

जनमत पार्टीले पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउने लगायतका माग राखेको छ । उक्त माग तत्काल पूरा नभए अझ कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।