काठमाण्डु – बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ।
आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा बिहीबार पनि कर्फ्यु लगाएको छ। प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो। स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
उनीहरु बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।
बिहीबार एमालेका कार्यकर्ताको आक्रमणबाट जेन–जी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए। झडपपछि उपाध्यायले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए।
बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेन–जी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए।
किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परेका हुन् ।











प्रतिक्रिया