काठमाण्डु- भारतका विदेश सचिव विक्रम मिस्रीको आगामी साता हुने प्रस्तावित काठमाण्डु भ्रमण तत्कालका लागि स्थगित भएपनि भारतले इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुन नेपाललाई निमन्त्रणा दिएको छ ।
यो शिखर सम्मेलन जुन १ मा नयाँ दिल्लीमा आयोजना हुँर्दैछ । सम्मेलनमा नेपालसहित सदस्य राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको छ ।
सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
आईबीसीए भारतले सन् २०२३ अप्रिलमा प्रोजेक्ट टाइगरको ५०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको एक वैश्विक गठबन्धन हो । यसको उद्देश्य विश्वका सात प्रमुख ठूला बिरालो प्रजातिका जनावरहरू-बाघ, सिंह, हिमचितुवा, चितुवा, जगुआर, प्यूमा र चीताको संरक्षण र सम्वद्र्धन गर्नु हो ।
सदस्य राष्ट्रहरूबीच सहकार्य, अनुसन्धान, तालिम, वन्यजन्तु संरक्षण प्रविधि आदानप्रदान तथा अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा जोड दिने यसले लक्ष्य राखेको छ ।
आईबीसीएमा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, मलेसिया, मंगोलिया, इजिप्ट, केन्या, नाइजेरिया, युगान्डा, पेरु, सुरीनामसहित २४ देश सदस्य छन् ।
भारतीय विदेशसचिव मिस्रीको दुईदिने प्रस्तावित भ्रमण परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा वैशाख २८ गते हुने तय गरिएको थियो ।
मिस्रीको भ्रमणको उद्देश्य नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहलाई भ्रमणको निम्तो दिनु र नयाँ सरकारका प्राथमिकताबारे बुझ्नु थियो । यो भ्रमण गत अप्रिलमा भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच मौरिससमा भएको भेटवार्ताको निरन्तरता पनि मानिएको थियो ।
तर प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारी वा नेतासँग भेट नगर्ने नीति अपनाएको र मिस्रीसँग भेट हुने सम्भावना नभएको कारणले उनको भ्रमण तत्कालका लागि स्थगित भएको जनाइएको छ ।
यस्तै, भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनाप्रति शाह सरकारले आपत्ति जनाएको विषयले पनि दुई देशबीचको सम्बन्धमा छाया पारेको छ ।
भारतले नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गरेको छ । यसै विषयमा नेपालले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ ।




प्रतिक्रिया