सीता महराको अन्त्येष्टि नेपाली सेनाले गर्ने

सीता महराको अन्त्येष्टि नेपाली सेनाले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमणबाट निधन भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको अन्त्येष्टि नेपाली सेनाले गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण उनको काठमाण्डुको थापाथलीस्थित नर्भिक हस्पिटलमा बुधबार विहान निधन भएको थियो । ५९ वर्षीया सीता एक दशकदेखी माइस्थेनिया रोगबाट पीडित थिईन ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले कोरोना संक्रमणबाट निधन भएकाले महराको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको काम सेनाले गर्दै आएको छ ।

पुख्र्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। त्यहा पनि उपचार हुन नसकेपछि उनलाई हेलिकोप्टरबाट काठमाण्डु ल्याईएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको थियो । कात्तिक १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी रहेकै बेला आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

रोल्पाको गजुलमा जन्मिएका सीताको नेकपाका नेता महरासंग २०३५ सालमा विवाह भएको थियो । महरा तत्कालिन नेकपा माओवादीमा भूमिगत भएसंगै उनलाई राज्यबाट पटक–पटक यातना दिइनुका साथै हिरासतमा समेत बस्नु परेको थियो । महरा पत्नी सीतालगायत महराको सिंगो परिवारमा माओवादी आन्दोलनमा सहभागी थियो । उनका दुई छोरा र दुई छोरी समेत जनयुद्धमा होमिएका थिए ।