रामले बनाएको सीताकुण्ड ओझेलमा

रामले बनाएको सीताकुण्ड ओझेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

रामपुर नगरपालिका ५ र ६ को सिमानामा पर्ने ऐतिहासिक सीताकुण्डलाई नेपालकै महत्वपूर्ण कुण्डका रूपमा लिइन्छ । भगवान राम वनबास जाने क्रममा रामपुर–८ स्थित कालीगण्डकी नदीको रामघाटमा बास बसेर दिनहुँ स्नान गरेको र सोही क्रममा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि लुकाउनका लागि रामले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ ।

सोही कुण्डमा सीताले रजस्वला भएका बखत नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो । नेपालका विभिन्न कुण्डमध्ये यस कुण्डलाई पनि एक महत्वपूर्ण कुण्डका रूपमा लिइएको छ । यसको ऐतिहासिक तथा धार्मिक महत्वको प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । यहाँका स्थानीयले ऐतिहासिक महत्व जोगाई राख्नका निम्ति तत्कालीन समयमा रामसीताको मन्दिर निर्माण गरेर नित्य पूजाआजा गर्दै आइरहेका छन् ।

पौराणिक कथनअनुसार सीताले नुहाएको यस कुण्डमा चामल फल्ने गरेको र सो चामल मन्दिरमा आउने उपासेले भोक लागेको समयमा थुतेर खाएपछि त्यस कुण्डमा धान फल्न थालेको जनविश्वास रहिआएको छ । यस कुण्डमा रहेको पानी कहिल्यै नसुक्ने र यहाँ बर्से्नि धान फल्ने र यही झर्ने गर्दछ । सीता रजस्वलाबाट बाहिर निस्किएपछि कुण्डभन्दा झन्डै २०० मिटर तल सीताको पाइला रहेको, खोलामा झर्ने क्रममा खुट्टा चिप्लिएर लडेपछि आरी आकार निर्माण भएको र सोही बाटो भएर झर्ने क्रममा भित्तामा हातले टेकेको छाप र भुइँमा चुल्ठो लत्रिएको आकार पनि देखिएको किंबदन्ती छ ।–रासस