काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीसँग छलफल गरेकी छन् ।
उनले राष्ट्रपति भवन शितलनिवासमा सोमबार दिउँसो देउवासहित कांग्रेसका पदाधिकारीसँग नागरिकता विधेयक र आसन्न निर्वाचनको विषयमा छलफल गरेकी हुन् । राष्ट्रपतिले नागरिकता विधेयक र आसन्न निर्वाचनबारे चासो र जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए ।
जवाफमा देउवाले राष्ट्रपति भण्डारीलाई पूर्ववर्ती केपी ओली सरकारले ल्याएको अध्ययादेशअनुसार नै हुबहु नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएका थिए ।
‘अनागरिक भएकाहरूलाई नागरिकता दिन यो विधेयक हामीले ल्याएका हौं । ओलीले अध्यादेशमा रूपमा ल्याएकै विषय अहिले विधेयकका रूपमा ल्याएको हो केही फरक छैन,’ देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
राष्ट्रपति भण्डारीले समसामयिक राजनीति र आगामी चुनावबारे पनि जिज्ञासा राखेकी थिइन् । उनले चुनाव निष्पक्ष हुनुपर्ने बताएकी थिइन् । प्रधानमन्त्री देउवाले चुनाव निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका थिए ।
राष्ट्रपति भण्डारीले आजै नेकपा एमालेका नेताहरूलाई पनि शितल निवास बोलाएकी छन । यसअघि भण्डारीले विभिन्न दलका नेताहरू तथा संविधानविद, सैनिक अधकारीलगायतसँग पनि नागरिकता विधेयकबारे छलफल गरेकी थिइन् ।
संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगे पनि पुनर्विचार गर्न सन्देशसहित राष्ट्रपतिले पुनः संसदमै फिर्ता पठाएकी थिइन् । उक्त विधेयक प्रतिनिधि सभाबाट हुबहु पारित भएको थियो भने राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ ।
राष्ट्रपतिले बोलाएपछि देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका थिए ।




प्रतिक्रिया