काठमाण्डु – सिरहाको औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ७ बुँदे सहमति भएको छ ।
सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र गृहमन्त्री गुरुङबिच शुक्रबार राति ७ बुँदे सहमति भएको हो। सहमति पत्रमा गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन् ।
यादवको साउन १४ गते गोलबजारमा गोली लागेर मृत्यु भएको थियो । सहमति पछि उनको शनिबार नै दाहसंस्कार गरिने छ ।
परिवारले अघि सारेका ६ बुँदे मागमा सरकारका तर्फबाट थप एक बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीलाई बताए ।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, मृतक यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर शनिबार नै दाहसंस्कार गरिने छ ।
दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने छ ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र शनिबार हेलिकोप्टरमार्फत शव सिराहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।
उनले सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने उद्देश्य रहेको बताए। उनले आफू स्वयं घटनाको अनुगमन गरिरहेको भन्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने दाबी गरे।





प्रतिक्रिया