आज महाशिवरात्रि, पशुपतिनाथका चार वटै ढोका खुला

आज महाशिवरात्रि, पशुपतिनाथका चार वटै ढोका खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाशिवरात्रि पर्व आइतबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरु भएको छ ।

बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाखभन्दा धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएकोछ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।

सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।

गौशाला क्षेत्र भई चक्रपथमा चल्ने गाडी भिडभाड हेरेर सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै गौशाला क्षेत्रमा आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको तयारी छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर आवागमनमा कुनै समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाउने योजना छ ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउनेलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्नेलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।