आज बडा दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा गरिँदै

आज बडा दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बडा दशैंको छैटौं दिन शनिबार हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

यस दिन सात वर्षीया कन्यालाई चण्डिका नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ।

उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ।

कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।

हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । जुन कुरा हामी देख्न सक्दैनौं, इन्द्रीयहरुले अनुभव गर्न सक्दैनौं र हाम्रो कल्पनाभन्दा धेरै बाहिर विशाल स्वरुपको छ । त्यो अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यी दुईमा एकदमै गहिरो भेद पाईन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होईन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ ।

सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ । अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ । त्यो नै देवी कात्यायनीको विशेषता हो ।